संक्षिप्त परिचय
म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको प्रदेश नं ४ मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको उत्पत्तिको सन्दर्भमा विभिन्न भनाइहरू रहेका छन् । “मेङ” भनेको थापा र “दी” भनेको नदी मिलेर म्याग्दी शब्द बनेको भन्ने भनाइ छ । यहाँ पौराणिक तथा ऐतिहासिक थुप्रै महत्वपूर्ण स्थानहरू छन् । ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको क्षेत्र, “जड” जडभरत गुफाको नामले गलेश्वरमा रहेको छ । वर्तमानमा राखु नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी थियो भनिन्छ । ऋषि पुलत्स्यको आश्रम “पुला” वर्तमान पुलाचौर गा.वि.स.मा रहेको छ । यस्तै मुनिवर पुलत्स्यको नाति विश्वका छोरा लंकाधिपति “रावण” को जन्मभूमि पनि यहीं हो भनिन्छ ।
लिच्छवी राजा मानदेवले गण्डकीपारी मल्लपुरीको बिद्रोह दमन गरेको कुरा इतिहासमा उल्लेख छ । मानदेव प्रथमको मुद्रा मानाङ्क बागलुङमा पाइएको हुनाले मल्लपुरी भनेको बागुलङ म्याग्दी यतै कतै हुनुपर्छ । प्रथम थापा राजा कालु थापा (वि.सं.१२४६) ले ताकममा राज्यको स्थापना गरेका थिए र थापाहरूको राज्यकाल ३०० वर्षसम्म रहेको थियो । बि.सं. १५४५ मा डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो राज्यमा गाभी वर्तमान धौलागिरि अञ्चलका सबै जिल्लाहरू समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए । बम मल्लले बनाएको पर्वत राज्यको एक भाग रहँदासम्म म्याग्दीले आफ्नै विशेषता ओगटेको थियो । राजा कीर्ति बम मल्लले ढोलठानामा दरवार खडा गरी बसेको र बेनीमा ठाना राखेका थिए भनिन्छ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पर्वत राज्यलाई नेपालमा गाभेपछि म्याग्दी पनि नेपाल अधिराज्यको एक अभिन्न अंगको रुपमा रह्यो । एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो । पछि बाग्लुङ गौंडा स्थापना भएपछि त्यहाँबाटै यहाँको प्रशासनिक र न्यायिक काम संचालन हुन्थ्यो ।
२०१५ सालमा महानिर्वाचन हुँदा ७ नम्बर क्षेत्रमा रहेको यो ठाउँलाई २०१८ सालमा १४ अंचल ७५ जिल्ला बिभाजन गर्ने क्रममा धौलागिरी अंचलमा पर्ने गरी म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरिएको थियो । उक्त समयमा यस जिल्लामा २१ वटा गाउँ पञ्चायत थिए । २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पंचायतहरू गाभिन आएपछि यस जिल्लालाई ४१ गाउँ पञ्चायत र ९ इलाकामा विभाजन गरिएको थियो । २०४८ साल पछि यो जिल्ला ४१ गा.वि.स, ११ इलाका र दुई वटा निर्वाचन क्षेत्रमा विभाजित हुन पुग्यो । २०४८ को जनगणनालार्ई आधार मानी २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरिएको थियो । २०७२ बैशाख २५ मा जिल्ला सदरमुकाम बेनीबजार संगै रहेका ६ वटा गाविसहरुलाई मिलाएर बेनी नगरपालिका घोषणा गरिएसंगै जिल्लामा हाल ३५ वटा गाविस र एक नगरपालिका कायम भएको छ। यस जिल्लाको पूर्वमा कास्की र पर्बत पश्चिममा बाग्लुङ्ग, रुकुम र डोल्पा उत्तरमा मुस्ताङ्ग र डोल्पा र दक्षिणमा बाग्लुङ्ग जिल्ला पर्दछन । हिमाली र पहाडी भू-बनौट भएको म्याग्दी जिल्ला ८३ डिग्री ०८‘ देखि ८३ डिग्री ५३‘ पूर्वी देशान्तर र २८ डिग्री २०‘ देखि २८ डिग्री ४७‘ उत्तरी अक्षांशसम्म फैलिएको छ । समुद्र सतहबाट ७९२ मीटर (रत्नेचौर गाविस) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर) रहेको छ ।
थप पढ्नुहोस्