स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण

म्याग्दीको सदरमुकाम बेनीमा जिल्लाका स्थानीय तहका विषयगत समितिका पदाधिकारीहरुको लागि क्षमता विकास सम्वन्धी प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा तालिम संचालन गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको बारेमा जानकारी गराउनुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले हाल नयाँ आर्थिक बर्षका लागि योजना तर्जुमा गर्ने समय भएकाले त्यसलाई मध्यनजर गरि तालिमको आयोजना गरिएको बताउनुभयो ।

जिल्लाका जनप्रतिनिधि तथा खास गरि विषयगत समितिका पदाधिकारीहरुलाई लक्षित गरि यो तालिमको माग गरिएको प्रमुख थापाको भनाई थियो । स्थानीय सरकारलाई सवल बनाउनका लागि पालिका पालिका तथा वडाका जनप्रतिनिधिहरु पूर्ण रुपमा जवाफदेहि हुनुपर्ने भएकाले प्रथमत उहाँहरुलाई विज्ञ बन्न आवश्यक रहेको समन्वय प्रमुख थापाले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा र रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले योजना तर्जुमाको पूर्वसन्ध्यामा आयोजित तालिमले उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न विषयगत शाखाका प्रमुखहरुलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मुल कार्य सम्पादन गर्ने जिम्मेवारीमा रहेकाहरु विज्ञता हाँसिल गर्न आवश्यकता रहेको भन्दै पालिका तथा वडाका जनप्रतिनिधिहरुले जुनसुकै कार्य सम्पादन गर्दा प्रचलित कानून र व्यवस्था अनुसार गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक जवाफदेहिताको पद धारणा गरेका व्यक्तिहरुले प्रक्रिया अनुसार रहेर कार्य गर्दा कम गुनासो आउने र आम नागरिकहरुको पनि मन जित्न सकिने प्रजिअ पौडेललको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले स्थानीय तहहरुले नागरिकको जीवनस्तर सुधार र परिवर्तनका कार्यहरुमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जिल्लाका स्थानीय तहहरुमा वर्षेनी बेरुजु रकम वढ्दै गएको पाईएकोले यसलाई न्युनिकरण गर्न आग्रह समेत गर्नुभयो ।

जिल्लाका ६ वटै स्थानीय तहका विषयगत समितिका संयोजकहरुको सहभागीता रहेको तालिम विहिवार सम्म संचालन हुनेछ । कार्यक्रममा स्थानीय तहको काम कर्तव्य, अधिकार, योजना छनौट, प्राथमिकिकरण, स्थानीय तहमा समिति, उपसमिति गठन सम्वन्धी व्यवस्था, योजना तर्जुमा प्रक्रियामा समितिहरुको भूमिका, सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई, संचालित कार्यक्रमहरुको अनुगमन लगायतका विषयहरुमा क्षमता विकास विज्ञ पंकज अधिकारी, प्रकाश ओझा, प्रमुख जिल्ला अधिकारी पौडेल र समन्वय अधिकारी राजेन्द्र प्रसाद पोखरेले प्रशिक्षण दिनुहुनेछ । उद्घाटन कार्यक्रम समन्वय प्रमुख थापाको अध्यक्षता र समन्वय अधिकारी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

Skip to toolbar