पश्चिमाञ्चाल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलको मध्यमागमा अवस्थित यस जिल्लाका ४१ वटा गाविसमध्ये जिल्ला सदरमुकाबाट पश्चिम दिशामा अवस्थित गाविस हो । यो गाविस सदरमुकाम बेनीबाट ६ कोषको दुरीमा रहेको छ । २०४६ पछिको राजनीतिक परिवर्तनपछि गाँउ विकास समितिको रुपमा परिवर्तन भई हालसम्म पनि अर्मन नामबाटै परिचित छ । अर्मन गाविस जिल्लाको राजनीतिक विभाजनमा इलाका नम्बर ७ मा पर्छ । गाविस नौ वटा वडामा बिभाजित छ ।
यो गाविसको नामाकरण सम्बन्धमा लिखित रुपमा ठोस प्रमाण फेला नपरेपनि यहाँका स्थानीय बुद्धिजिवी तथा बुढापाकाहरुको भनाई अनुसार यो क्षेत्रमा अर्मले जातको वनस्पति प्रशस्त मात्रामा पाइने गर्दछ । सो वनस्पति प्रशस्त पाइने हुँदा नै यस ठाउँलाई अर्मले भन्दै जाँदा अपभ्रंस भई अर्मन हुन गएको हो भन्ने कथन छ । र पछि यसैको नामबाट गाविसको नामारण भएको हो भन्ने भनाइ रहेको छ ।
यो गाविस जिल्लाको दुर्गम भेगमा भएको कारण बिकासका दृष्टिकोणमा गाविस पछि रहेको छ । यस गाविसमा सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको उपस्थिती न्यून नै रहेको छ । केही स्थानीय तथा जिल्ला स्तरका गैर सरकारी संस्थाहरुले गाविसमा कामको शुरुआत भने गरेका छन् ।
करीव २८° २०’ उत्तरदेखि करीव २८° २४’ उत्तरी अक्षांश र करीव ८३°२३’ पूर्वदेखि ८३°२८’ पूर्वी देशान्तरमा रहेको यो गाविस समुद्री सतहको करीव १००० मीटरदेखि ३००० मीटर सम्मको मीटरको उचाइमा अवस्थित छ । जिल्ला सदरमुकामबाट ६ कोषको दुरीमा अवस्थित छ । जिल्लाको २२९७.०६ वर्ग किमी क्षेत्रफलमध्ये यस गाविसले करीव २७ वर्गकिमी (२६७८ हेक्टर, जिल्ला वस्तुगत विवरण) क्षेत्रफल ओगटेको छ । यस गाविसको पूर्वमा बरंजा गाविस, पश्चिममा निस्कोट गाविस, उत्तरमा बाबियाचौर र दरवाङ्ग गाविस तथा दक्षिणमा बागलुङ्ग जिल्लाको तारा गाविस पर्दछन् ।